इजरायलमा विभिन्न पेशा, व्यवसाय र रोजगार गरी बस्नुहुने सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजु-भाइहरू,

Published On: Friday, July 10, 2015 | Source: NRNA ISRAEL

इजरायलमा विभिन्न पेशा, व्यवसाय र रोजगार गरी बस्नुहुने सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजु-भाइहरू,
यहाँ फेरी पनि NRNA NCC को चुनाब हुदैछ भन्ने सुन्दैछु l यस बिषयमा मेरा केहि जिज्ञासाहरु तपाईंहरू समक्ष राख्न चाहन्छु :

-इजरायलमा NRN कसलाई भन्ने ?
-इजरायलमा आएर 'केयर गिभर' को विसामा कामगरेको ४ बर्ष भन्दा बढी भयो ...हाल म गैर-कानूनी अवस्थामा छु, मैले नेपाल सरकार परराष्ट्र मन्त्रालयले जारी गरेको NRN CARD पनि लिएको छैन, के म NRN हुँ ?

-म संग नेपाली राहदानी छ तर नागरिकताको प्रमाणपत्र भने छैन , के म NRN बन्न सक्छु ?
-NRN को चुनावमा भाग लिन अहिले नै सदस्यता लिए पुग्छ कि सदस्यता लिएको एक निश्चित अवधि पुरा गरेको हुनुपर्छ?
-NRNA ISRAEL निर्वाचक मण्डलले प्रकाशित गरेको ८८८ जनाको सूचीमा उल्लेख भएका सबै NRN नै हुन त? उनीहरुसंग नेपाल सरकार परराष्ट्र मन्त्रालयले जारी गरेको NRN कार्ड छ त ? आगामी जुलाई १८ को चुनावमा निर्वाचित NRNA NCCका पदाधिकारीहरुलाई कसले प्रमाणीकरण गरिदिने ? नेपाल सरकार परराष्ट्र मन्त्रालयले जारी गरेको NRN कार्ड नलिएको विजेतालाई नेपाली राजदूताबासले प्रमाणित गरिदेला त ?

-NRN को सदस्यता वापत कति शुल्क तिर्नु पर्ला? अनि यो शुल्कको हिसाब-किताबको फर्छौट हुन्छ/हुदैन ? यस पटक जस्तै पहिला पनि त सदस्यता वापत शुल्क त उठाउनु भएको थियो होला नी ? ...त्यसको हिसाब-किताबको सार्बजनिककरण गर्नु भयो कि भएन होला ? NRNA इजरायललाई नेपाली समुदायको छाता संघठनको रुपमा इजरायल सरकारले मान्यता दिएको छ/छैन होला?

-तपाईंहरु NRN इजरायलका निवर्तमान हुन लाग्नु भएका पदाधिकारीहरु, तपाईंहरुले आफ्नो कार्यकालमा गरेका उल्लेख्य कुनै ३ कार्य तथा उपलब्धिहरु कृपया उल्लेख गरिदिन्हुन्छ कि?

-इजरायलमा रहेका नेपालीहरुका तत्कालका समस्याहरुका सम्बन्धमा खोइ तपाईंहरुको ध्यान गएको ? जस्तो:
१. नेपाल सरकारको खाडी मुलुकमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका२०७२को कार्यान्वयनले इजरायलमा केयर गिभरको काम गर्ने कामदारहरुले अनावश्यक रूपमा दु:ख पाईरहेका छन् , ऊनीहरू घरेलु कामदारको रुपमा काम गरिरहेको नभएता पनि नेपाली राजदूताबासबाट अनिवार्य कागजात लिनु पर्ने प्रावधानले कैयौ कामदारहरू लाई अनेकौ झन्झट र दु:ख आइ परिरहेको छ..यस समस्यालाई किन तत्कालै समाधान गर्न NRN ले पहल नगरेको? यस प्रावधानले पेपर विसामा काम गर्ने कामदारहरुलाई छुट्टीमा घर जाने र आपत विपतमा आफ्नो देश फर्कन पाउने अधिकारबाट बन्चित गरिदिएको छ, यसको समाधानको लागि तत्कालमा केहि गरिहाल्नु पर्ने भएको छ , NRNA इजरायलले केहि पहल गरेको छ कि ? यो समस्या समाधान हुन सके धेरैलाई राहत पुग्ने थियो भनी ध्यानाकर्षण गराउन चाहन्छु l

२. एउटा नेपाली चेलीले अर्को नेपाली चेलीको अस्मिता र प्रतिष्ठामा आंच आउने काम सामाजिक संजाल र ब्लग मार्फत खुल्लम खुला गरिरहेका छन् l उनिहरु तपाई हाम्रो सामु मै छन् l उनिहरुको हर्कतले यस देशमा नेपाली भनेर आफुलाई चिनाउन समेत लाज लाग्ने परिवेश स्रिजनाहुदै गएको छ l नेपाली-नेपाली बीच आपसी मित्रता र सहयोगको वातावरण बनाउने प्रयास खोइ गरेको-NRN ले ?

३. कैयौ नेपालीहरु VISA सकिएर गैर कानूनी भएको अवस्थामा दुर्घटनामा परी घाइते भईरहेका छन् , ज्यान गुमाई रहेका छन् l त्यस्ता घटनाबाट बचाउन उनीहरुलाई राय-परामर्श दिई नेपाल फर्कनका लागि सहजकर्ताको भूमिका खोइ निभाएको ? NRNA इजरायलले HOTLINE संचालन गरेको त सुनेको थिए, यस कार्यबाट कति नेपाली लाभान्वित भए, यसको जानकारी गराउनु भएको भए बेस हुनेथियो कि?

४. NRNA इजरायलका पदाधिकारी नै नेपाली राजदूताबास बन्द गरेर राजदूताबास संचालन गर्ने बजेट दुर्गम गाँउको बिकास गर्नमा खर्च गर्नु पर्छ ..भन्दै अन-लाइन मिडियामा अन्तर्वार्ता गर्दै हिडेको देखेको थिएँ l यदि राजदूताबास बन्द गर्ने भए हाल यहाँ रहेका ५,००० भन्दा बढी नेपाली कामदार र ५०० जति नेपाली मूलका गैर-आवासीय नेपालीको हित र सुरक्षाको ग्यारेन्टी कसले गर्ने नि ? साथै यस्ता अन्तरवार्ताहरु दिएर ६ बर्ष अघि नेपालीहरुलाई इजरायली आकाशमा रोक लगाईएको के अब खुल्ला त ? नेपाल खुलाउन NRNA इजरायलले सरकारी तथा गैर-सरकारी निकाय संग कसरी लबी गरि रहेको छ त ?

५. नेपाल र नेपालीको पहिचान संसार भर फैलाउने , नेपालको पर्यटकीय र सांस्कृतिक धरोहरहरूको प्रचार-प्रसार र प्रबर्ध्दन गर्ने कार्य अरु देशमा रहेका NRNA ले जस्तै यहा को NRNA इजरायलले पनि गरेकै होला , त्यसको सामान्य जानकारी पनि पाउन सकिएको छैन , यस कार्यमा के कति योगदान पुर्याउनु भा'को थियो होला?

६. विश्वमा नेपाली नपुगेको कुनै ठाउं छैन l विश्वमा रहेका हरेक नेपाली, नेपालका दूत हुन् l यस अर्थमा हाल इजरायलमा ५,००० भन्दा बढी नेपाली दूतहरू छन् , NRNA NCC ले यी दूतहरू मार्फत नेपाल र नेपालीको मान, सम्मान र स्वाभिमानको प्रबर्ध्दन गर्न के कति काम गर्यो ?

७. हाल सालै नेपालमा महा-प्रलयंकारी भुकम्पमा पिडितहरुका लागि विश्व भर छरिएर रहेका नेपालीहरुले NRNA संस्था मुनि गोलबध्द भएर अकल्पनीय सहयोग राशी जुटाउन सफल भए , देशमा त्यस्तो विपत घडी आई पर्दा NRNA इजरायल को के भूमिका निभायो?

८. NRNA भनेको विदेशमा रहेका सबै नेपालीहरुको समुह , नेपालीहरूको सामाजिक, सांस्कृतिक , लैंगिक एवं जातीय संस्थाहरूको छाता संघठन हो , NRNA इजरायलले के छाता संघठनको भूमिका खेल्न सकेको छ त? जुन सुकै संघ संस्थामा रहे पनि त्यो संस्थामा आबध्द सबै नेपाली NRN हुन , अनि तिनीहरू NRNA का सदस्य हुनुपर्ने हैन र ? किन NRNA इजरायलले सबैलाई एकबैध्यताको संग्लोमा उन्न नसकेको ?

९. ऐन कानून बिपरितको व्याज दर( ४० देखि ५० डलर प्रति हजार ) तोकेर मध्यस्थ कर्ताको भूमिका निभाएर एक नेपालीलाई फसाएर एक नेपालीलाई उकास्ने काम पनि नेपालीहरुले नै गरिरहेका छन् जसका कारण केहि केहिको घर-वास उजाडीदै गएको देखिएको छ , १- २ रुपैया बढी रकमको लोभमा नेपालीले नै हुण्डी व्यवसायलाई प्रश्रय दिई राखेका छन् जसका कारण आ-आफ्नो अमुल्य समय र पसिना खर्चेर परिवार देखि कोशौ हजार दुरीमा रहेर कमाएको रकम नेपाल पुगेर कालो धनमा दर्ता भई रहेको छ, देश र जनताकोलागि केहि गर्छु भनेर बिदेशिएका NRNहरूको कर्तव्य,के यहि हो? यहाँ रहेका नेपालीहरुको भ्रम कसले हटाउने ? क्षणिक स्वार्थ र अलिकति आयको लोभ ले के अन्त्यमा उचित नतिजा देला.?

१०. बिदामा नेपाल गएर इजरायल फर्कदा कैयौ नेपालीहरुले त्रि.अ.वि.मा एकातर्फ अनावश्यक झन्झट र तड़प सहनु परेको छ , पासपोर्ट , विसा , कागजातहरु सबै हुँदा पनि एअरपोर्टबाट एअर्लाइन्सका मेनेजरहरुले, श्रम-डेस्कका कर्मचारीहरुले फर्काइ दिनेगरेको पाईयो l फलत: दोहोरोखर्च गरेर पुन टिकट खरिद गरेर इजरायल आउनु परेको छ भने अर्को तर्फ रि-इन्ट्री विसाको म्याद सकिएकोले इजरायल छिर्न पनि समस्या भोग्नु परेको छ , यस्ता समस्याबाट मुक्त बनाउन नेपालका सम्बन्धित पदाधिकारीहरु संग कुरा गरेर यस्ता समस्याको पूर्ण निराकरण गर्न NRNA इजरायलको ध्यान अझै सम्म किन नगएको ? समस्याको पूर्ण निराकरण नहुन्जेलको लागि NRNA केन्द्रिय कार्यालयले एउटा हेल्प-डेस्कको व्यवस्था गरिदिनु पर्यो ताकि बिदा सकी इजरायल फर्किने कुनै पनि नेपाली आफु कानून सम्मत तरिकाले विदेश भ्रमणमा हिडे पनि आफ्नै देशको विमानस्थलका कर्मचारीबाट असभ्य, निच व्यवहारको सामना गर्नु नपरोस , कुनै कुनै अवस्थामा आफु सम्पूर्ण रूपमा विदेश भ्रमणमा जान उपयुक्त रहेको भएता पनि केहि नेपाली कामदार त्यहाको कर्मचारी लाई "चिया-पानी " खर्च दिन बाध्य हुनुपरेको छ , त्यस्तो अवस्था कहिल्यै न-आवोस

........यस्ता अनेकौ प्रश्न होलान् ..यहाँ रहनुभएका हजारौ नेपाली दिदी-बहिनी, दाजु- भाइहरुको मनमा l कृपया यी प्रश्नहरुको उत्तर लेखिदिनु भएमा NRNA जस्तो गरिमामय संस्थामा हुन लागेको चुनावमा तपाईंले दिनु भएको उम्मेद्वारी सार्थक होला कि ?
............... यी माथि उल्लेख समस्याहरुको समाधान गर्ने ग्यारेन्टी दिनुहुन्छ भने ..(.भलै मेरो नाम तपाईंहरुको मतदाता सूचीमा दर्ता छैन , तर म संग नेपाल सरकार परराष्ट्र मन्त्रालयले दिएको NRN कार्ड छ ...त्यसको विपरित तपाईंका मतदाता सूचीका मतदाताहरु मध्ये कसै संग पनि नेपाल सरकार, परराष्ट्र मन्त्रालयले दिएको NRN कार्ड छैन, त्यति हुँदा हुँदै पनि .. ).म तपाईलाई एक मत सगर्व दिनेछु ..यदि अनलाइन-भोटिंगको व्यबस्था गर्नुहुन्छ भने ...?!!!!

अन्त्यमा पुन:अनुरोध , अलिकति समय दिएर जवाफ दिनु भएमा आभारी हुनेछु , धन्यबाद